क्रिकेट मैदानमा पुबुदुको स्वागत

.
काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् । मन्त्रालयले लामो समयदेखि अन्योललाई समाप्त पार्दै सोमबार क्यानाडेली मूलका दासानायकेसँग १० महिने सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। मन्त्रालयले सोमबार नै दासानायकेलाई राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल क्रिकेट संघ (क्यान)सँग रहेर कार्य गर्न भनेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा परिषदका सदस्य सचिव युवराज लामा, क्यानका कार्यबहाक महासचिव उत्तम कर्माचार्य र राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितको समूहले दासानायकेलाई स्वागत गरेका हुन्। दासानायके दोस्रो कार्यकालका लागि बिहीबार नेपाल फर्किए पनि सम्झौता नभएकाले प्रशिक्षण दिएका थिएनन्। पारसले दासानायकेलाई फर्काएकोमा सरकारलाई धन्यबाद दिए। 'अबको ६ महिना नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण छ, पहिलो पटक सरकार गम्भीर देखिएको छ, त्यसैले खेलाडीले अझ मेहनत गरेर नेपाली क्रिकेटलाई थप उचाईमा पुर्याएउनु पर्ने जिम्मेवारी बढेको छ,' पारसले भने । क्यान आर्थिक रुपमा नसक्ने भएपछि सरकारले दासानायकेको सबै खर्च बेहोरिदिदैं श्रीलंकाका पूर्व विकेटकिपरलाई नेपाल बोलाएको थियो। नयाँ सम्झौताअनुसार दासानायकेले मासिक तलब ८ हजार डलरसहित खाना बस्ने सुबिधा पाउने छन्। उनले मुख्य प्रशिक्षकका साथै नेपालको क्रिकेट विकासमा परामर्शदाता भएर कार्य गर्नेछन् ।

0 comments:

Post a Comment